गजल
जिन्दगी सिकाइ रहेछ( गजल )

गजल
यो सप्रिनु र बिग्रिनुको कुरा पनि एउटा सोचाइ रहेछ,
जीबन मान्यताको थैली भर्ने पनि उसकै भोगाइ रहेछ।
बचपन कतै नजाने रहेछ ,मनको पिँजडा छोडेर यहाँ ,
सिरानी बिझाउँछ लाग्छ,फरिया आमाको बोलाई रहेछ।
मलाई माफ गर मेरो छोरा नसिकाएकोमा,मै सिक्दै छु,
आफू जित्न अरुलाई ढाल्नै पर्ने, जिन्दगी कुदाइ रहेछ।
यता बाट हेर्यो खोट लगायो ,उता पल्टायो खोट देख्यो ,
दैब सबै उस्तै देख्छ, खाली खोटी मान्छेकै हेराई रहेछ।
चोटले मरे तुल्य भै कहिले ,प्राण सल्बलाए झैं कहिले ,
सधैं नयाँ पाठ रट्नु पर्ने जिन्दगी आखिर सिकाइ रहेछ ।
नमिता दवाडी
गोर्खा नेपाल
हाल : न्युजिल्यान्ड
12/04/2020